उत्तरी कालपोखरीकी लाक्पा डोमा शेर्पा कलेज बिदा हुनासाथ दार्जिलिङ छाडेर घर आउँछिन् । सँगैका साथीहरूको जाडो बिदामा अन्यत्र घुम्ने या कम्प्युटर र ट्युसन पढ्ने योजना भए पनि उनलाई घर फिर्नैपर्ने बाध्यता छ । उनका दाजु निङगुर शेर्पा पनि बिदा हुनासाथ घरको होटलमा व्यस्त हुनुपर्छ ।
पर्यटकको चहलपहल अत्यधिक हुने यो इलामका लेकाली क्षेत्रमा उनीहरूको पढ्ने र जिउने आधार नै होटल भएकाले पढाइसँगै काममा सघाउनु उनीहरूको दायित्व हो । छिमेकी छोवाङ भोटियाका पाँचजना छोराछोरी नै दार्जिलिङका विद्यालय र कलेज पढ्ने भए पनि बिदामा सबै घरको काम सघाउन आइपुग्छन् । भोटियाकी जेठी छोरी तेन्जिङ मेतोकले दार्जिलिङको टिबेटियन विद्यालयमा १२ कक्षासम्म पढेकी छिन् । उनले त्यहीँको इन्स्िटच्युटबाट हिमाल आरोहणको कोर्स पनि गरेकी छिन् । तर, अरू भाइ-बहिनीलाई पढाउनुपर्ने भएकाले उनी घरमा सञ्चालित होटल थामेर बस्छिन् ।
'पर्यटकको चाप अत्यधिक हुने भएकाले बुबाआमाको भरले मात्र हुँदैन,' तेन्जिङ भन्छिन्, 'घरबार चलाउन र भाइ-बहिनीको राम्रो शिक्षाका लागि नै होटलमा व्यस्त हुनुपरेको छ ।'
उनका बहिनीहरू मिङ्मा र खान्दोमा पनि बिदामा कुशल होटल व्यवसायीझैँ भएकाले दसैँ, तिहार र जाडो बिदामा आफ्नो होटलमा आउने पाहुनालाई खान, बस्नको प्रबन्ध मिलाउन आइपुग्छन् । उत्तरी सीमावर्ती पर्यटकीय क्षेत्रको प्रमुख आयस्रोत होटल व्यवसाय नै भएकाले हरेक विद्यार्थीर् कुशल पर्यटन व्यवसायमा लाग्छन् ।
यस क्षेत्रमा फस्टाएको पर्यटन व्यवसायकै कारण नयाँ पुस्तामा जागिरभन्दा व्यवसायको लोभ बढेको छ । भारतको पढाइ र नेपालको बसाइ भएकाले यहाँका तन्नेरीलाई जागिरको उत्ति भर लाग्दैन । 'जति पढे पनि यस क्षेत्रका बासिन्दाको राम्रो आय-आर्जनको स्रोत होटल व्यवसाय नै हो,' सन्दकपुरको शेर्पा च्यालेट होटलका नर्वु शेर्पाले भने ।
पश्चिमा र बंगाली पर्यटकको ओइरो लाग्ने यस भेगमा भाषिक हिसाबले पनि पर्यटकलाई फस्र्याउन अंग्रेजी जानेका विद्यार्थीको आवश्यकता पर्छ । त्यसैले पनि सीमावर्ती क्षेत्रका दर्जनाँै विद्यार्थी अंग्रेजी सिक्नकै लागि दार्जिलिङतर्फ अध्ययन गर्ने गर्छन् ।
त्यस क्षेत्रको पर्यटन दार्जिलिङ निर्भर भएकाले पनि पर्यटन व्यवसाय सिकाउन पनि अभिभावकले सीमापारि पठाएका हुन् । 'होटल व्यवसाय, पथप्रदर्शकजस्ता पेसाका लागि छोराछोरी दक्ष बनाउन पनि उतै पठाउँछन्,' सरस्वती प्रावि मेघमाका प्रधानाध्यापक चन्द्रकुमार प्रधानले भने, 'अंग्रजीसँगै दार्जिलिङको बसाईले पर्यटन व्यवसाय पनि सिक्ने गर्छन् ।'
ग्यान्टोक, दार्जिलिङ, कालिङपुङलगायतका भारतीय सहरमा विद्यार्थी पढाउने होडले सीमावर्ती क्षेत्रका नेपाली विद्यालयमा भ्ाने विद्यार्थीको संख्या न्यून छ । सीमावर्ती क्षेत्रका कालपोखरी, मेघमा, तुमलिङ, जौवारीलगायत ठाउँबाट डेढ सयभन्दा धेरै विद्यार्थी सीमापारिका विद्यालयमा अध्ययन गर्ने गर्छन् ।
'पढाइखर्च जोहो गर्ने मुख्य माध्यमै होटल भएकाले काम नगरी उपाय नै छैन,' तुमलिङस्थित शिखर होटलकी मनीषा गुरुङले भनिन् । असोजदेखि वैशाखसम्मको सिजनमा पर्यटक भरिभराउ हुने गरेकाले होटलको काम सघाउन सबै विद्यार्थी अहिले घर आएका छन् । सीमावर्ती क्षेत्र जैविक, धार्मिक र सगरमाथादेखि कञ्चजंघासम्म हिमशृंखलाको दृश्यावलोकनका लागि महत्त्वपूर्ण भएकाले ठूलो संख्यामा पर्यटकको चहलपहल हुने गरेको हो ।
उत्तरी इलामको कालपोखरीस्थित आफ्नै होटलमा काम गर्दै विद्यार्थीहरू । यस क्षेत्रबाट सीमापारि दार्जिलिङतर्फ पढ्न जाने विद्यार्थी होटल व्यवसायमा पनि निपुण छन् ।
0 comments:
Post a Comment