दुर्घटना भएको तेस्रो दिन तीन पत्रकारको टोली अग्नि एयर दुर्घटना भएको गाउँ पुगोका थियाँै । भयानक दुर्घटनापछिको गाउँ सन्नाटाले छोपिएको थियो । हामी पुग्दा मौसम खुलेको थियो, गाउँ दुर्घटनाको डरलाग्दो स्मृतिमा डुबेझैँ लाग्थ्यो । दुर्घटनास्थलनजिकैको बकियाठाकुर प्राथमिक विद्यालयमा प्रहरी टोली बसेको रहेछ । केही टाठाबाठा गाउँले यत्रतत्र घुमिरहेका थिए, मानौँ जोकोही नयाँ मान्छेलाई घटना विवरण सुनाउन आतुर थिए । स्कुलको चौरमा विद्यार्थी पढ्ने बेन्च राखेर बसिरहेका डिएसपी गौतमराज कट्टेल सुन्निएको कुर्कुच्चाको पीडा अनुहारमा उतार्दै उभिए र हामीसँग हात मिलाए ।
दुर्घटनालगत्तै आइपुगेको प्रहरी टोलीसँग छोटो कुराकानी भयो । दुर्घटनास्थलबाट हलुका दुर्गन्ध आइरहेको थियो, त्यसले मन अमिलो पार्यो । प्रहरीले रूखमा झुन्डिएका मासुका त्यान्द्रा देखाए । त्यसले हाम्रो मन क्षतविक्षत पार्यो । सशस्त्रका डिएसपी यादव विश्वकर्माले रूखको हाँगा देखाउँदै भने, 'यी हाँगामा मासु झुन्डिएका थिए, हामीले संकलन गरी लामा धर्मअनुरूप दाह संस्कार गरिदियौँ ।'
गाउँ उराठलाग्दो थियो । त्यहाँबाट हात्तीसुँडेबाट उकालो लाग्याँै हामी । ज्यान थर्थर्ती कामिरहेको थियो । हिँड्न नसकेर आँत सुकेको थियो ।
एकाबिहानैको समय । गाउँमा झरझर पानी परिरहेकाले मौसम चिसो थियो, गाउँले मस्त निद्रामा थिए । मौसम चिसो थियो । अचानक गाउँको बीचमा जहाज खस्दा गाउँलेको निद्रा टुट्यो । सबैको मानव शरीर टुक्रिएर जमिनमा यत्रतत्र छरियो । जहाज भुइँमा झर्नेबित्तिकै वरिपरिका गाउँले बेहोस भए । होस खुल्दा आँखाअगाडि जहाजका पाताहरू देखिए । अनि देखिए मासुका टुक्राहरू । बाँकी केही देखिएनन् । गाउँको चित्र यस्तै थियो, गाउँलेको भनाइमा ।
घटनास्थलमा पैदलमार्गबाट कोही पुग्ने सम्भावना थिएन । हेलिकोप्टरबाहेक अरूबाट त्यहाँ पुग्न असम्भव थियो, सदरमुकाम हेटौँडाबाट । आवेगमा आएका खहरे र बहुलाएर आएको सिमातखोला पार गर्न सजिलो थिएन । फापरबारी र हात्तीसुडेबाट प्रहरी सबैभन्दा पहिले घटनास्थल पुगेछ । हवाईमार्गबाट नेपाली सेना र फिस्टेल एयर पुग्यो । छरिएका मासु संकलन गर्ने काम आधाआधी गाउँलेले नै सकेका थिए । 'प्लास्टिकमा शव पोको पारियो,' गाउँले भन्दै थिए । सबैको मन कुँडिएको थियो । होसमा कोही थिएनन् ।
गाउँलेले घटनाबारे बताए । उनीहरूको कुरो नसकिँदै घटना भएको तेस्रो दिन पुगेको हामी पत्रकार अर्को एउटा घटनाले विक्षिप्त भयौँ । स्कुलको तल्लोपट्टकिो गह्राबाट कुकुरले एउटा मासुको टुक्रो मुखमा च्यापेर दौडियो । कसैको शवको टुक्रो कहाँ पुगेको छ ? थाहा छैन । शवका टुक्रा उछिट्टएिर कहाँ पुगेको छ, त्यो भेटिन्छ वा भेटिँदैन, त्यो पनि कसैले भन्न सकिरहेका छैनन् । प्रहरी खोजीकार्यमा लागेका छन् । तर, हातमा केही परिरहेको छैन । गाउँले अहिले पनि निस्सासिएका छन् । त्यो नमिठो घटना बिर्सन खोज्दै छन् । के बिर्सन सकिन्थ्यो ? आँखाअगाडिको त्यो कहालीलाग्दो घटना । जहाजका अवशेष खेत र बाटोमा देखिएका छन् । केही टिपेर थुप्रो बनाइएको छ । लुक्लाको जाडो छल्न लैजाँदै गरिएको बाक्ला उन्यूका टोपीहरू पनि छन् घटनास्थलमा । कसैका ज्याकेट, कसैका माक्स पनि भेटिन्छन् ।
हामी त्यहीँ हुदा आकाशमा एउटा हेलिकोप्टर फिरिरी गर्दै देखियो र कोदोबारीमा हेलिकोप्टर टक्क अडियो । एकैछिनमा गाउँलेको भीड जम्मा भयो ।
हेलिकोप्टरमा छानबिन आयोगका सदस्यहरू रहेछन् । सरकारले बनाएको आयोगका सदस्यहरू आएका रहेछन् । उनीहरूले भने, 'हामी अनुसन्धान गर्दै छौँ ।' जहाजको एउटा इन्जिन त भेटियो । तर, अर्को इन्जिनको अत्तोपत्तो छैन । कहाँ कुन कुनामा छ वा कतै खेतमै भासिएको छ ? ब्ल्याक बक्स पनि भेटिएन, डिएसपी विश्वकर्माले भने ।
कसैको मन यो वेला प्रफुल्लित हुने कुरै भएन । दुःखी भएर प्रहरी पनि काम गरिरहेका छन् । गाउँले पनि निराश छन् । स्कुलमा सूचना टाँसेर बिदा दिइएको छ ।
आयोगका सदस्यहरू आकाशमार्गबाट राजधानी हिँडे । बाँकी रह्यो- प्लेनका अवशेष, केही प्रहरी, हामी तीन पत्रकार, गाउँले अनि स्मृति । फेरि पानी पर्ला जस्तो भयो । हामी हात्तीसुँडे फर्कियौँ ।