*** नमस्कार अनी स्वागतम स्वागतम www.sangsonjpr.blogspot.com मा JAYA साङ्सोनको***

Thursday, January 27, 2011

भारतबाट आयातीत अवैध सुन कारोबार बढ्यो

नेपालमा भन्दा भारतमा सुन सस्तो भएका कारण ठूलो परिमाणमा अवैध सुन आयात भइरहेको हो



बैंकबाट सुन किन्दा झन्झटिलो भएको कारण देखाउँदै नेपालका सुन व्यापारीले भारतबाट अवैध रूपमा सुन खरिद गरी नेपाली बजारमा कारोबार गर्ने क्रम बढेको छ । नेपालमा भारतबाट अवैध रूपमा आयातीत ३० किलो सुन दैनिक कारोबार भइरहेको व्यवसायीले बताएका छन् । नेपालमा भन्दा भारतमा सुन सस्तो भएका कारण ठूलो परिमाणमा अवैध सुन आयात भइरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले प्रक्रिया झन्झटिलो भएकाले भारतबाट अवैध आयात भइरहेको सुन किन्न व्यवसायी बाध्य भएको बताए । 'घटीमा १ किलो सुन किन्नुपर्ने हुन्छ, त्यसमा पनि राष्ट्र बैंकको निर्देशिकाका कारण कच्चा सुन बेच्न पाइँदैन, त्यसैले व्यवसायीले सहज रूपमा सुन किन्न नसकेका हुन्,' अध्यक्ष शाक्यले भने, 'सोही कारण व्यवसायीले प्रति १० ग्राममा १ सय ५० रुपैयाँसम्म बढी तिरेरै भए पनि भारतबाट अवैध रूपमा ल्याइएको सुन किनेर काम चलाइरहेका छन् ।'

विवाह मौसममा सुन बढी किनबेच हुने गरे पनि वाणिज्य बैंकहरूले आयात गरेको सुन बैंकमै थन्किएको छ । मुलुकभर दैनिक ३५ किलो सुन आवश्यक पर्ने भन्दै आयात बढाउन माग गरिरहेका व्यवसायीले एक महिनामा विभिन्न वाणिज्य बैंकबाट ३० किलो सुन मात्र किनेका छन् ।

संघको पुस २४ मा बसेको साधारणसभाले सदस्य आफैँले जिल्लाबाट सिफारिस लिएर सुन किन्न सक्ने गरी अनुमति दिए पनि वाणिज्य बैंकबाट सुन किन्न व्यवसायीले रुचि देखाएका छैनन् । बैंकबाट किनेको सुन कम्तीमा ५० प्रतिशत बिक्री गरेको प्रमाण देखाएपछि मात्र थप सुन किन्न पाउने व्यवस्था भएकाले पनि वाणिज्य बैंंकभन्दा भारतीय सुनमा व्यवसायी भर पर्ने गरेका हुन् ।

एक महिनामा काठमाडौंका व्यवसायीले १० किलो सुन किनेका छन् । त्यस्तै, भक्तपुरकाले २ किलो र रुपन्देहीकाले ५ किलो सुन खरिद गरेको सुनचाँदी व्यवासायी संघका अध्यक्ष शाक्यले जानकारी दिए । उनका अनुसार, हाल दिनको २५ किलोसम्म सुन भारतबाट अवैध आयात हुने गरेको छ ।

नेपाल सुनचाँदी कला व्यवसायी संघका अध्यक्ष रुद्रबहादुर बरुवाल भारतबाट आयातीत अवैध सुनको भरमा नेपाली सुनचाँदी व्यवसाय चलिरहेको स्विकार्छन् । आप\mना सदस्य व्यवसायीको अनुगमन गर्न नसके पनि अवैध सुन खरिद गर्दा पछि समस्या परे केही गर्न नसक्ने जानकारी दिँदै सदस्यलाई सचेत गराएको उनको भनाइ छ । उनी वाणिज्य बैंकबाट सुन किन्ने प्रक्रिया झन्झटिलो भएकामा भने सहमत छन् ।

सबै बैंकमा सुन नहुने र जुन बैंकमा छ त्यहाँबाट मात्र सुन किन्न खाता खोल्नुपर्ने, सुन बेचेको प्रमाण जुटाउनुपर्ने, धेरै परिमाणमा किन्नुपर्ने आदि प्रावधानका कारण बैंकको सुन खरिदमा व्यवसायीको चासो नदेखिएको बरुवालले जानकारी दिए ।

नेपाल रत्न आभूषण संघका महासचिव विजय ताम्राकार वाणिज्य बैंकले बढी नाफा खाएका कारण सुन किन्ने क्रम घटेको बताउँछन् । १० ग्राम सुनको भन्सार १ हजार र बैंकले लिने नाफा ५ सयका कारण अन्तर्राष्ट्रिय बजारमा भन्दा १५ सय बढी तिर्नुपर्दा समस्या देखिएको ताम्राकारको गुनासो छ । दैनिक २ किलो ७ सय ग्राम सुन किन्न सक्ने गरी रत्न तथा आभूषण संघलाई कोटा तोकिए पनि पहिले सुन नकिनेकाले हाल दिनको ५ किलोसम्म सुन किनेको उनले बताए । वाणिज्य बैंकको सुन नबिक्नुमा भारतबाट आएको सुन मुख्य कारण भएको ताम्राकारले स्विकारे ।

अघिल्लो आर्थिक वर्ष धेरै सुन आयात भएपछि शोधनान्तर घाटा भएको भन्दै राष्ट्र बैंकले सुन आयातमा कोटा तोकेको थियो । तर, अहिले भारतबाट नेपालमा सुनको अवैध आयात हुन थालेपछि अनियन्त्रित रूपमा भारतीय मुद्रा बाहिर जान थालेको छ ।

एक महिनामा एनआइसी बैंक, लक्ष्मी बैंक र प्राइम बैंकले ५० किलोका दरले १ सय ५० किलो सुन आयात गरेकामा ३० किलो मात्र बिक्री भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले जानकारी दिए । १ सय २० किलो सुन ३ वटा वाणिज्य वैंकमा थन्किएर बसेको छ । दैनिक १५ किलो सुन आयात गर्न राष्ट्र बैंकले दिएको अनुमति उचित रहेको बताउँदै उनले भने, 'कुन वस्तु कति आयात गर्ने भन्ने विषयमा राष्ट्र बैंकलाई राम्ररी जानकारी छ, त्यसैले पहिलेको १० किलो बढाएर १५ किलो बनाइएको हो ।'

राष्ट्र बैंकले बोलकबोलमार्फत बिक्री गरेको ५ सय किलो सुनका कारण हाल व्यवसायीले वाणिज्य बैंकबाट सुन नकिनेको उनको भनाइ छ । भारतबाट आयात हुने अवैध सुनबारे राष्ट्र बैंकलाई जानकारी नभएको प्रवक्ता ज्ञवालीले बताए ।

0 comments:

Post a Comment

Youtube video गीतहरु

नेपालीमा type गर्नुहोस्।

नेपालको Flag

Photobucket

Visitors

free counters

YouTube Video हेर्नुहोस्

तपाईं पनी Laugh गर्ने होइन?

Laughing Cat Pictures, Images and Photos

Facebook Friends

Slideshow मेरो Photo हरु

झरना

Photobucket

चराहरु

Photobucket

बिज्ञापनहरु

tickets2nepal
Fly To Nepal
Money 2 Nepal
Travel USA

तपाईंहरुको सन्देश

केही मनोरन्जन लिन्कहरु

Hosting Info

Free Website Hosting
ILAM | Template by - Abdul Munir - 2008 - layout4all